Skip to main content

Posts

Showing posts from May 14, 2025

कविता : लेकै चरि

- सन्जय सिंजाली मगर लालीगुराँस फुल्यो ढकमक्क लेकै भरि मन हरायो डाँडाकाँडो हेर्दै, एकान्त शून्यतासँग चौरी रमायो देउराली भिरपाखामा अचानक आयो याद, मनको गहिराइ सरी । देउरालीमा भेटिएका ती थोरै क्षणहरू अझै पनि ओसिला छन्, आहा कति मिठा ती दृष्टि क्षण मन भन्छ यहीँ बसौं, यो सौन्दर्यको हृदयभरि । सुँगुरेका ती फुलहरूजस्तै हाम्रा सपनाहरू पहाडी हावामा फर्फराउँछन्, अग्ला बाँसघारीभित्र कतै गुम्सिएका तिमीले भनेका शब्दहरू अझै गुञ्जिरहेझैँ लाग्छ । टाढै देउरालीको कुना कुना तिम्रो हाँसोले भरिएको अनुभव हुन्छ, त्यही हाँसोले मन रित्तिएको क्षणमा म फेरि बाँच्न थाल्छु स्मृतिका फूल टिप्दै । घामले छोएको हरियो पाखोमा तिमी र म, अनि त्यो मौनता ती पलहरूमा समय पनि रोकिएजस्तो थियो, जसले प्रेम, पीडा र सुन्दरतालाई एकसाथ पस्केको थियो । यहीँ कतै मन हरायो फेरि, चुपचाप हेर्दै लालीगुराँसको खिलखिलाहट, र सम्झँदैछु तिमी बिना पनि, तिमी सँगसँगै भएकाजस्तो ।