- सन्जय सिंजाली मगर
लालीगुराँस फुल्यो ढकमक्क लेकै भरि
मन हरायो डाँडाकाँडो हेर्दै, एकान्त शून्यतासँग
चौरी रमायो देउराली भिरपाखामा
अचानक आयो याद, मनको गहिराइ सरी ।
देउरालीमा भेटिएका ती थोरै क्षणहरू
अझै पनि ओसिला छन्,
आहा कति मिठा ती दृष्टि क्षण
मन भन्छ यहीँ बसौं, यो सौन्दर्यको हृदयभरि ।
सुँगुरेका ती फुलहरूजस्तै हाम्रा सपनाहरू
पहाडी हावामा फर्फराउँछन्,
अग्ला बाँसघारीभित्र कतै गुम्सिएका तिमीले भनेका
शब्दहरू अझै गुञ्जिरहेझैँ लाग्छ ।
टाढै देउरालीको कुना कुना
तिम्रो हाँसोले भरिएको अनुभव हुन्छ,
त्यही हाँसोले मन रित्तिएको क्षणमा
म फेरि बाँच्न थाल्छु स्मृतिका फूल टिप्दै ।
घामले छोएको हरियो पाखोमा
तिमी र म, अनि त्यो मौनता
ती पलहरूमा समय पनि रोकिएजस्तो थियो,
जसले प्रेम, पीडा र सुन्दरतालाई एकसाथ पस्केको थियो ।
यहीँ कतै मन हरायो फेरि,
चुपचाप हेर्दै लालीगुराँसको खिलखिलाहट,
र सम्झँदैछु
तिमी बिना पनि, तिमी सँगसँगै भएकाजस्तो ।
Comments