Skip to main content

धर्म होइन पहिचान संकट हो: मगर बौद्ध बनाउने प्रयासको रोचक प्रपञ्च

-संजय सिन्जाली मगर

नेपालका आदिवासी जनजातिहरूमध्ये मगर समुदाय ऐतिहासिक, भाषिक, सांस्कृतिक र धार्मिक दृष्टिले विशिष्ट पहिचान बोकेको समूह हो। आफ्नै खाम ( शामानिक ) धर्म, प्रकृति र पूर्वजपूजामा आधारित जीवनशैली, मौलिक संस्कार, लोपोन्मुख भाषा, लिपि र परम्परागत ज्ञान बोकेको यो समुदायलाई पछिल्ला केही वर्षदेखि जबर्जस्ती बौद्ध धर्ममा सीमित गर्न खोजिने चलन देखा परेको छ।

मगर धर्म भनेकै बौद्ध हो भन्ने एकपक्षीय र तथ्यविहीन दावीहरू विभिन्न संघ–संस्था, सामाजिक सञ्जाल, राजनीतिक अभिव्यक्तिहरू हुँदै आम जनमानसमा विस्तार गर्न खोजिँदैछ। यो प्रवृत्तिले मगर समुदायको मौलिक धार्मिक सांस्कृतिक संरचनामाथि गम्भीर हस्तक्षेप गर्दै आएको छ, जसले दीर्घकालमा सांस्कृतिक पहिचानको संकट निम्त्याउन सक्ने देखिन्छ।

इतिहासको पुनर्लेखन होइन, यथार्थको सम्मान गरौं :
मगरहरूको धार्मिक जीवनशैली प्राचीन कालदेखि नै कुनै संस्थागत धर्मको अनुकरणमा आधारित नभई प्रकृति, पुर्खा र आत्मिक विश्वाससँग सम्बन्धित स्वतन्त्र प्रणालीमा विकसित भएको हो। देवीदेवता, कुलपूजा, साम्दो, भुतपुर्वज, देउराली, ल्हो पद्धति, खाम र सामी संस्कारहरू मगर समुदायका आफ्नै मौलिक चिनारी हुन्।

यसका बावजुद कतिपय समूहले मगर जातिको सम्पूर्ण इतिहास र धर्मलाई केवल बौद्ध धर्मसँग जोडेर व्याख्या गर्ने, बौद्ध परम्परा देखिएको केही क्षेत्रीय उदाहरणलाई सम्पूर्ण समुदायमा सामान्यीकरण गर्ने प्रवृत्ति देखिएको छ। यस्तो धारणा ऐतिहासिक दृष्टिले न त प्रमाणित हुन्छ, न त वर्तमान सामाजिक विविधतासँग मेल खान्छ।

भूगोल र समयले धर्म फरक पार्छ :
नेपालभरि फैलिएको मगर समुदायको बसोबास पूर्वदेखि पश्चिमसम्म व्यापक छ, र विभिन्न भूगोलमा उनीहरूको धार्मिक अभ्यास पनि फरक–फरक छ। पश्चिम नेपालका रोल्पा, रुकुम, बागलुङ, प्यूठान, पाल्पा आदि जिल्लामा खाम धर्म, सामी परम्परा र कुलपूजा अझै जीवित छन्। पूर्वका धनकुटा, भोजपुर, उदयपुरतिर कतै कतै बौद्ध परम्पराको आंशिक प्रभाव देखिए पनि ती लामाबादी ग्रन्थाधारित बौद्ध धर्म भन्दा फरक छन्।

यस्ता क्षेत्रीय विविधता हुँदाहुँदै सबै मगर बौद्ध हुन् भन्नु धर्म र संस्कृतिको बहुलतालाई अन्धकारमा राख्नु हो। यो एक प्रकारको वैचारिक संकुचन हो, जसले समाजभित्रको बहुरूपताको अस्वीकार गर्छ।

धार्मिक पहिचानको जबर्जस्ती थोपावट, एक खतरनाक अभ्यास :
‘धर्म’ कुनै वस्तु होइन, जसलाई हरेकमा एउटै प्रकारले ढाल्न सकियोस्। यो समाज, भूगोल, समय र सांस्कृतिक अन्तर्बोधसँग जोडिएको संवेदनशील तत्व हो। जब समाजका केही व्यक्ति वा संस्था आफ्नो राजनीतिक, वैचारिक वा विदेशी हितसाथ मेल खाने उद्देश्यले समुदायमाथि धर्म थोप्न थाल्छन्, त्यहाँ सांस्कृतिक स्वायत्तता र आत्मपहिचान संकटमा पर्न जान्छ।

यो संकट तीन तहमा देखा पर्न सक्छ :
सांस्कृतिक मेटामेट : खाम धर्मका चाडपर्व, देवीदेवता र रीतिथिति ‘अवैज्ञानिक’ वा ‘पुरातन’ भन्दै बेवास्ता गरिने सम्भावना।
समाजिक ध्रुवीकरण : जब एकथरी मगर बौद्ध धर्ममा जान्छन् र अर्काथरी मौलिक परम्परामा अडिन्छन्, तब समुदायभित्रै दूरी र द्वन्द्व पैदा हुन्छ।
राजनीतिक दुरुपयोग : विदेशी संस्था वा शक्तिहरूसँग मिलेर केही नेतृत्वदायी समूहले धर्मलाई औजार बनाई व्यक्तिगत वा गुटगत स्वार्थ पुरा गर्ने प्रयास गर्छन्।

मिथ्या ऐतिहासिक तर्कको प्रयोग :
ईतिहास फर्केर हेरौँ मगर राजाहरु बुद्ध थिएु भन्ने अप्रमाणित तर्क, वा लुम्बिनी मगरभूमि हो, त्यसैले मगर बौद्ध हुन् भन्ने अतार्किक दावा यस्ता प्रवृत्तिका केही दृष्टान्त हुन्। यस्ता भनाइहरूले धर्मको ऐतिहासिक विकासक्रमको वैज्ञानिक अध्ययनलाई विस्थापित गर्छन् र समुदायमा भ्रम फैलाउँछन् ।

धर्म स्वतन्त्रताको संवैधानिक अधिकार र सम्मान :
नेपालको संविधानले हरेक व्यक्तिलाई आफ्नो धर्म विश्वास गर्ने, अभ्यास गर्ने वा परिवर्तन गर्ने अधिकार दिएको छ। यस अर्थमा, कुनै पनि मगरले बौद्ध, हिन्दू, ख्रिस्टियन वा खाम धर्म मान्न सक्छन् तर त्यो व्यक्तिगत स्वतन्त्रताको सवाल हो, सामूहिक थोपावटको विषय होइन।

धर्मको नाममा राजनीतिक आन्दोलन गर्नु, जातीय पहिचानको नाममा धार्मिक कार्यक्रमको एकीकरण गर्नु, र त्यो पनि तथ्य र तर्कबिना समाजलाई गलत दिशामा लैजाने खतरनाक अभ्यास हो।

विविधता भित्रै एकता खोजौं :
मगर समुदायको समृद्धि र पहिचान एउटै धर्म वा भाषामा सीमित छैन। यस समुदायको बल यसको विविधता र आत्मनिर्भर संस्कृतिमा छ। यो विविधतालाई स्वीकार गर्दै सामूहिक आत्मचिन्तन गर्नु आजको आवश्यकता हो।

मगर धर्म भनेकै बौद्ध हो भन्ने जुन एकतर्फी विचारको अविलम्ब छ त्यो अन्त्य हुनुपर्छ। बरु, मगरहरूको मौलिक खाम दर्शन, पूर्वजपूजा, प्रकृतिपूजा, चाडपर्व र परम्परागत संस्कारहरूलाई दस्तावेजीकरण, अध्ययन, संरक्षण र प्रवर्द्धन गर्नुपर्ने समय आएको ।

धर्मको नाममा पहिचानलाई बिर्सन होइन, पहिचानको नाममा धर्मको सम्मान गर्न सक्नुपर्छ किनभने, अन्ततः धर्म केवल आस्थाको प्रश्न होइन यो जीवनशैली, समाज र इतिहाससँग गाँसिएको सामूहिक चेतना हो।

Comments

Popular posts from this blog

पाल्पा रम्भा गाउँपालीकाको मगर यूवाहरु मगरात जोङ संस्थामा संगठित भए

मगरको भाषा, धर्म, संस्कार, रितिरिवाज संरक्षण प्रबद्धन र एकताबद्ध गर्दै पुस्ताहस्तान्तरण गर्ने लक्ष्य सहित औपचारिक कार्यक्रम आयोजना गरिएको संस्थाका बिरष्ठि उपाध्यक्ष सुदिप काम्मु मगरले जानकारी दिनुभयो । मगरको आफ्नै बिशेष पहिचान छ, जुन नयाँ पुस्ताले यसको अनुभव गर्न नपाउँने हुन् की भन्ने उनको बढो गुनासो थियो । हाम्रो संस्था मगरात जोङ दर्ता प्रकिृयामा रहेको र, संस्था दर्ता पश्चात अझ नयाँ योजना थप गर्दै लैजाने छौ । उनले थपे बिशेष गरि यहाँका मगरका बच्चाहरु लाई बिधालय जाने बातवरण गराउँने र रम्भा गाउँपालीकाको स्कुलमा मगर भाषालाई पठनपाठनको रुपमा लागु गराउँनाका निम्ति पनि यस संस्था जुटोको हो । यस औपचारिक कार्यक्रममा रम्भा गाउँपालीका भित्र पर्ने पाँच वटै वडा बाट मगरहरु सहभागी जनाएका थिए । यसरी आयोजना गरिएको कार्यक्रम रम्भा गाउँपालिका वडा ५, ताहुँ स्थित रेडक्रस भवनमा सम्पन्न भएको थियो । सो भेला बाट थप गर्ने गरि ११ जनाको नयाँ कार्यसमिति निर्माण गरिएको छ । साथै संस्थाका निर्वाचित नाम यस प्रकारका छन् । अध्यक्ष : दिपक काम्मु मगर बरिष्ठ : उपाध्यक्ष सुदिप काम्मु मगर उपाध्यक्ष : गंगा मंश्राङ्गी मगर सचिव...

लघु कथा : ब्यापार संघर्ष

सन्जय सिंजाली मगर कृष्ण थापा, सानो गाउँमा जन्मिएका एक युवक, आफ्नो परिवारको आर्थिक अवस्थाले पिरोलिएका थिए। उनी किसान परिवारमा जन्मिएका थिए र सानैदेखि खेतबारीमा काम गर्नु उनको दिनचर्या थियो। तर, उनका आँखा धेरै टाढा थिए। उनलाई ठूला शहरको चहलपहल र जीवनमा केही ठूला कुरा गर्नुपर्ने सपनाहरू थिए। विद्यालयमा पढ्नका लागि पर्याप्त साधन थिएनन्, तर कृष्णले आफ्नो अध्ययनलाई कहिल्यै कमजोर बन्न दिएनन्। उनी साँझ खेतमा काम गर्थे र बिहान बिहान सबेरै उठेर विद्यालय जान्थे। साथीहरूले उनीमाथि हाँसे, गाउँलेहरूले उनलाई तिमीले के नै गर्न सक्छौ र भनेर खिसी गरे। तर, कृष्णको मनमा केही फरक योजना थियो। विद्यालय सकिएपछि उनी काठमाडौं जाने निर्णय गरे। घरमा कसैले उनलाई रोक्न चाहेनन्, तर सहयोग गर्ने कोही पनि थिएन। उनले आफ्नो सानो कोठरीमा रहेका केही सामानहरू बेचेर काठमाडौंका लागि यात्रा सुरु गरे। शहरमा उनले संघर्षको नयाँ आयाम भेटे रातभर जागिर, बिहान कलेज। कहिलेकाहीं खान नपाएर सुत्नुपर्थ्यो, तर उनले कहिल्यै हार मानेनन्। उनी हरेक सानोतिनो अवसरको खोजीमा रहन्थे। कहिलेकाहीं पैसाको अभावले गर्दा पुस्तक किन्न नसक्दा सार्वजनिक पुस्...