सन्जय सिंजाली मगर
मेषी दण्डको अध्ययन सकेपछि मनमा अनेक कुरा उब्जिन थाले। मनभित्र रहेका केही भ्रमहरू हटाउने प्रयास गरें। तर, थाहा हुँदाहुँदै पनि ती भ्रमकै पछि लागिरहेँ। यो कस्तो लत हो ? सामाजिक परिवेशमा बसेपछि समाजका सबै रीतिरिवाजहरू स्वीकार गर्नुपर्ने बाध्यता देखिन्छ। हिन्दू धर्मले थिचेको परिवेश र संस्कारले गिजोलेको समाज कस्ता थिए ? र तिनीहरू कस्ता हुनु पर्थ्यो ? विज्ञानले समेत स्वीकार गर्यो’ भनेर भ्रम फैलाउनेहरू आजसम्म आधुनिक युगतर्फ किन उन्मुख हुन सकेनन् भन्ने विषयमा बहस र मन्थन नहुनु स्वयंमा एक रोचक विषय बनेको छ ? यसको पछाडि कुनै गम्भीर कारण त छैन ? यस्तै प्रश्नहरूले यो चिन्तनलाई मलजल गरेका छन्। विचारहरू घुम्न थाल्छन् र मस्तिष्कले पनि मुटुको चालजस्तै भसभस धुन बजाउन थाल्छ।
अब एकछिन खालिङ राईहरूलाई मेषी दण्डीत भएर भोग्नुपरेको पीडाबारे छोटो चर्चा गरौं।
खालिङ थर राई जातिको एक उपथर हो, जुन आदिवासी जनजातिमा सूचीकृत छ। यी विशेषगरी पूर्वी पहाडी भेगका राम्चा गाउँमा बहुल रूपमा बसोबास थियो । उनीहरूको आफ्नै भाषा, धर्म, संस्कार र संस्कृति छन्, जसले उनीहरूलाई आफ्नै पहिचानमा सुरक्षित बनाएको छ।
यही पृष्ठभूमिमा आधारित नाटकको प्रसंग जोड्न सकिन्छ। खालिङ जाति परम्परागत रूपमा सिप र संस्कारमा आधारित जीवन पद्धति पछ्याउँदै आएको आदिवासी समुदाय हो। तर, जब मेषी दण्डबाट छुट्कारा पाउने आशामा पर्बते भाषा बुझ्ने पुरोहितहरूलाई जग्गाजमिन दिएर भित्र्याइयो, त्यहीँबाट खालिङ समुदायमा हिन्दू जाति व्यवस्थाको चक्रव्यूह लादिन थाल्यो।
युगौँदेखि खालिङहरू बसोबास गर्दै आएको भूगोलमा कामको आधारमा साना-ठूला तहगत रूपमा वर्गीकरण हुन थाल्यो। त्यसै अनुसार खसभाषाले एकपछि अर्को गर्दै स्थानहरू कब्जा गर्दै गयो।
यसरी किराँत भूगोलमा हिन्दूकरणले थिचोमिचो गरेको यथार्थलाई नाटकले प्रस्तुत गरेको हो। नाटकमा ब्राह्मण र खालिङ दुवै समुदायबीचको टकराव, नोकझोक, अनि प्रेम र सहकार्यको पक्ष पनि दर्साएको छ।
Comments