-सन्जय सिंजाली मगर
आफन्त भनिने ती आफ्नै कहाँ थिए,
अझ पीरको भारी थप्नमै जुट्थे।
सपना बुनेका ती आँखामा आँसु,
सधैँ मेरो बाटो अन्धकारले लुट्थे।
साँचो बोल्दा खपिन्थेन, दोषारोपण,
सपना बताउँदा हाँसो हुन्थ्यो मन।
सहारा दिने तिनले चोरिदिन्थे साथ,
मनको बगैँचामा बिसाएर प्रभात।
आफ्नै पीर भन्थे र, मेरो बुझ्थेनन्,
दुख्दो छ यो मन, तर कसैलाई के।
चिन्ता छ कि उनी, खुशी छन् कि छैनन्,
मलाई उनीकै चिन्ता, उनीलाई के।
मैले गल्ती गर्थें, विश्वास गर्थें,
तर ती त मेरो भित्रैको चोट गर्थें।
धेरै सहें, धेरै आँसुका बाढीमा,
तैरिंदै बाँच्ने जुक्ति खोजें भित्रीमा।
साँचो माया कति अपमान भयो होला,
के सोच्थें, के भयो! जान्न नपाउँला।
बुझाउन सकिनँ कि जीवनको बाटो,
ती आफन्तहरूको गुम्यो परिपाटो।
अब कोही पराजित ठानून् या नठानून्,
मुखमा बुजो लाउँदै, मौनताको चिह्न।
शब्दले नपुग्ने कुरा समयले भन्छ,
साँचो प्रेमको मूल्य एक दिन बुझिन्छ।
तर मनमा खल्लो छ, ती आफन्त हुन्,
जसलाई चिसो नजरले हेर्नु कष्ट हो।
तर अब बाँच्नुछ, आफूमा हराउँछु,
मेरो मौनताले नै सबै कुरा सुनाउँछु।
Comments