- सन्जय सिन्जाली मगर
नेपालको राजनीतिक इतिहासमा जब जब परिवर्तनका छालहरू उठे, मगर समुदाय सधैं अग्रपंक्तिमा थियो राणा शासनको अन्त्य, प्रजातान्त्रिक आन्दोलन, दश वर्षे सशस्त्र द्वन्द्व वा गणतन्त्र स्थापनासम्मका प्रत्येक मोडमा उनको भूमिका उल्लेखनीय रह्यो; तर ती योगदानका बाबजुद पनि मगरहरू राजनीतिक रूपमा आजसम्म एकजुट हुन नसक्नु विडम्बनापूर्ण तथ्य हो, जसको मूल कारण राजनीतिक बिखण्डन, साझा दृष्टिकोणको अभाव र नेतृत्वको दिशाहीनता हो, विभिन्न दलमा मगर नेताहरू भए पनि उनीहरू पार्टी सीमाभन्दा माथि उठेर समुदायको साझा हितका मुद्दा उठाउन असमर्थ छन्, जसका कारण भाषा, संस्कृति, शिक्षा, रोजगारी र प्रतिनिधित्वजस्ता मौलिक सवालहरू निरन्तर ओझेलमा परिरहेका छन्। हजारौं मगर युवायुवती आज वैदेशिक रोजगारमा पलायन हुनुको कारण केवल आर्थिक हैन, स्वदेशमा सम्भावनाको संरचना नहुनु र राजनीतिक प्रतिनिधित्वको असक्षमता पनि हो। जबसम्म नीति निर्माण तहमा समुदायको आवाज पुग्दैन, तबसम्म राज्यका कार्यक्रम र योजनामा उनीहरूको सहभागिता सुनिश्चित हुँदैन। थारू समुदायले राजनीतिक एकता प्रदर्शन गर्दै संविधानमा ‘थारुहट प्रदेश’को मागसहित आफ्नो उपस्थिति सुरक्षित गर्दा मगर समुदायले ‘मगरात’को अवधारणासमेत संस्थागत गर्न सकेन, जसको कारण माग नउठ्नु, उठाउनेहरूमा समन्वय नहुनु र संस्थागत दबाबको अभाव नै होस अब समाधानको बाटो के हो भने, पहिलो मगर नेताहरूले दलगत स्वार्थभन्दा माथि उठेर साझा मगर मोर्चा निर्माण गर्नुपर्छ, दोस्रो नेपाल मगर संघलगायत संघसंस्थाहरू सांस्कृतिक गतिविधिमा मात्र सीमित नरही राजनीतिक सचेतनामा अग्रसर हुनुपर्छ, तेस्रो युवा पुस्तालाई नेतृत्व विकासतर्फ उन्मुख गराई कोटा, संवैधानिक व्यवस्था र सामाजिक न्यायका आधारमा प्रतिनिधित्व संस्थागत गरिनुपर्छ। किनभने मगर समुदायको सवाल आज केवल पहिचानको हैन, अस्तित्वको हो यो भाषा, संस्कृति, शिक्षा, आत्मसम्मान र आर्थिक अवसरसँग जोडिएको विषय हो। इतिहासले दिएको गौरवपूर्ण गाथालाई पुनःस्थापित गर्न आजको प्रमुख आवश्यकता भनेको मगर नेतृत्व र समुदायको राजनीतिक एकता हो, जसले स्वदेशमै अवसर सिर्जना गरी पलायन रोक्न सक्छ र मगर समाजको योगदान इतिहासका पानामा मात्र सीमित नराखी समकालीन नेपाल निर्माणमा निर्णायक बन्न कसले छेक्न सक्छ र ?
Comments